पोखरा,२९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ (बहुमत) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

यसअघि संविधानको धारा १६८ को उपधारा ५ अनुसार ३१ जना सांसदहरुको बहुमतसहित सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा समेत प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिमा आनाकानी गरेको भन्दै नेपालीकाे पक्षका प्रदेश सभा सदस्यहरूले प्रमुखको कार्यालय अगाडि धर्ना दिएका थिए ।

कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नक्कली पत्रसहित पुनः मुख्यमन्त्रीमा दाबी गरेको र त्यसैलाई आधार मानेर प्रदेश प्रमुखले गुरूङलाईनै मुख्यमन्त्री नियुक्त गर्नसक्ने आशंकामा नेकपा एमाले बाहेकका दलहरू प्रदर्शनमा उत्रिएका हुन् ।

गुरुङले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष र राष्ट्रिय जनमोर्चाबाट निस्काशित सांसद कृष्ण थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेकाे बताइएको थियो ।