बुटवल,२९ जेठ । गुल्मी र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाकाे मृत्युु भएको छ ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका–२, बाँझकटेरीमा ना २ ख ५७६५ नम्बरको ट्रकले किचेर साेही ट्रकका सहचालक प्युठानको स्वर्गद्धारी निवासी अन्दाजी २० वर्षिय गगन घर्तीको शनिवार बिहान ९ बजे मृत्युु भएको हो ।
अर्घाखाँचीबाट सडक निर्माण सामग्री बोकेर आएको उक्त ट्रक ओरालोमा रोकिएको र सह–चालक घर्तीले पछाडि ओँट लगाउने क्रममा ट्रक पछाडि गुड्दा उनलाई किचेको प्रहरीले जनाएको छ ।
यसैबीच प्युठानमा कोष तथा लेखा निरीक्षक कार्यालयको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ जादै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ ।
आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइएकाे र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले बताए ।








