बुटवल,२८ जेठ । कोरोना महामारी रोकथामका लागि सर्बपक्षीय संयन्त्र निर्माण गर्नुपर्ने कुरामा सरोकार वालाहरुले जोड दिएका छन् ।
शुक्रबार बुटवलमा आयाेजित कोरोना भाइरस (कोभिड १९ ) नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारणले जनजीवनमा पारेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिले शुक्रबार बुटवलमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा उनीहरुले सत्ताको खेल भन्दा जनताको स्वास्थ ठूलो रहेकाले राज्यले कोरोना नियन्त्रणका लागि सर्बपक्षीय संयन्त्र निर्माण गरेर यो महामारी रोकथामका लागि पहल गर्नु पर्ने बताए ।
सो अवसरमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले सरकारले कोरोना महामारी रोकथामका लागि प¥याप्त काम गर्न नचाहेको भन्दै जनताको स्वास्थमा खेलबाड गर्ने अधिकार कसैलाई नभएको बताए ।
सरकार एक्लैले कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै उनलेे कोरोनालाई जित्नका लागि सर्बपक्षीय संयन्त्र निर्माण नै अन्तिम विकल्प रहेको बिचार व्यक्त गरे ।
कार्यक्रममा अर्का वक्ता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले कोरोना महामारी नियन्त्रणका लागि सबै राजनीतिक दल र नागरिक समाज सहित मिलेर काम गर्नुपर्ने कुरामा जोड दिए । देशको वर्तमान राष्ट्रिय मुद्दामा सबे दलहरुले कार्यगत एकता गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ । साथै उनले जनतालाई तत्काल खोप लाउने व्यवस्था गर्न सरकारसंग माग समेत गरे ।
सरकारले जनतालाई खोप उपलब्ध गराउन सक्ने क्षमता नभए जनतालाई खोपको व्यवस्था आफुहरुले गर्ने दावी समेत गरे । त्यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य पंकज राई, नेकपा माओवादी केन्द्र (क्रान्तीकारी) का लुम्बिनी प्रदेश सदस्य विनोद मरासेनी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल आदिवासी जनजाति महासंघका लुम्विनी प्रदेश अध्यक्ष दीपक गुरुङ, नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् लुम्विनी प्रदेश सचिव लाल बहादुर गुरुङ, राष्ट्रिय दलित मोर्चाका केन्द्रिय सह–संयोजक हरिओम वि.क., थारु कल्याणकारी सभा रुपन्देहीका अध्यक्ष सतिश कुमार चौधरी, थकाली सेवा समितिका चित्र प्रसाद तुलाचन, मोजिब अली लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिका अध्यक्ष झम बहादुर गुरुङको अध्यक्षता तथा सहसचिव चित्र प्रसाद गुरुङको सञ्चालनमा सम्पन्न भएकोे थियो ।
यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीले निषेधाज्ञाका कारण बाटोमा अलपत्र परेका व्यक्तिहरु, मजदुर, अस्पतालका बिरामी लगायतलाई रुपन्देहीका विभिन्न ठाउँमा निशुल्क खाना तथा खाजा वितरण गरिरहेको जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहाले जानकारी दिए ।








