प्रकाश खनाल
बुटवल,२८ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश सरकारकाे तर्फबाट प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पार्टीका प्रदेश सभा सदस्यहरूकाे उपस्थितिले आफ्नो नेतृत्वको प्रदेश सरकार बहुमतमा रहेको पुष्टि हुने दाबी गरेका छन् ।

आज बसेकाे प्रदेश सभाकाे बैठकमा यही जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा प्रदेश सभामा पेश गरेको प्रदेश सरकारकाे नीति तथा कार्यक्रमकाे सन्दर्भमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पाेखरेलले उक्त दाबी गरेका हुन् ।

आफू बिरूद्व प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा अविश्वास प्रस्तावकाे सामना नगरी राजिनामा दिएर बहुमतको दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाेखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको र सरकारकाे स्वरूप संबिधानकाे धारा १६८(२) अनुसारको भएको र विश्वासको मत समेत नलिएकोले प्रदेश सरकारकाे बैधानिकतामाथी विपक्षी दलहरूले प्रश्न उठाएको बिषयमा उनलेे उक्त दाबी गरेका हुन् ।

केन्द्रकाे राजनीतिमा देखापरेको बिभाजनकाे प्रभावबाट लुम्बिनी प्रदेशलाई मुक्त गर्ने आफ्नो चाहना भए पनि अन्तिममा आएर आफ्नो प्रयास सफल हुन नसकेको भन्दै मुख्यमन्त्री पाेखरेलले केन्द्रीय राजनीतिमा देखा परेको बिभाजनकाे असर लुम्बिनी प्रदेशमा पनि परेकोमा आफुलाई दुख लागेको बताए ।

जनता समाजवादी पार्टी संसदीय दलमा भएको बिवादकाे प्रसङ्ग काेट्याउदै उनलेे अल्पमतले बहुमतलाई गरेको कारबाहीलाई प्रदेश सभाले सदर गरेको प्रति असन्तुष्टि जनाए ।

यद्यपि जसपाकाे संसदीय दलको बिधानमा भने चयन भएको २ बर्षसम्म दलको नेता हटाउन नपाइने प्रावधान रहेको छ ।

मुख्यमन्त्री पाेखरेल बिरूद्वकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ जना सहित जसपाका ४ जना प्रदेश सभा सदस्यहरूलाई प्रदेश संसदीय दलको सिफारिसमा पार्टी केन्द्रीय कार्यकारिणी समितिकाे बहुमतको निर्णयकाे पत्रकाे आधारमा प्रदेश सभा सचिवालयले पदमुक्त भएको सूचना जारी गरेसँगै उनिहरू पदमुक्त भएका थिए ।

मुख्यमन्त्री पाेखरेलले प्रदेश सभामा बेला बेलामा देखा परेका गतिविधिले प्रदेशमा अझै पनि लाेकतान्त्रिक पद्धति स्थापित गर्न नसकिएको अनुभूति भएको बताए ।

जसपा संसदीय दलले कारबाही गरेपछि कारबाहीमा परेका ४ जना प्रदेश सभा सदस्यहरूले बहुमतको आधारमा आफुहरूले दलको नेता परिवर्तन गरेको र दलको नेताकाे नेतृत्वमा पार्टी प्रदेश सरकारमा सहभागी भएको दाबी गरेका थिए ।

प्रदेश सरकारकाे नीति तथा कार्यक्रमबारे जानकारी गराउदै मुख्यमन्त्री पाेखरेलले काेभिड-१९ काे संक्रमण नियन्त्रण र सम्भावित तेस्रो लहरबाट जाेगाउन उन्मुख हुने बताए ।

लुम्बिनी प्रदेशलाई नमुना प्रदेशका रूपमा विकास गर्ने याेजना अनुरूप यसअघि अगाडि बढाइएका याेजनाहरू पूरा गर्नेतर्फ आगामी बजेट केन्द्रीत हुने भन्दै मुख्यमन्त्री पाेखरेलले सुशासन कायम गर्ने कार्यमा प्रदेश सरकार लागि परेको जानकारी गराए ।

मुलुककाे कूल गार्हस्थ उत्पादनमा प्रदेशको याेगदान हाल १४ प्रतिशत रहेको भन्दै उनलेे आगामी बर्ष बागमती पछि पहिलो प्रदेश बन्ने लक्षसहित साेहि अनुसारको याेजनाकासाथ अगाडि बढ्ने बताए ।