बाँके,२८ जेठ ।
बाँकेमा थप चारजना काेराेना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी चारजनाका रहेकाे बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताए । ४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो ।
बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको उनले बताए । ८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको थियो ।







