बुटवल,२३ जेठ । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले ‘जनमुक्तिको जनसेवा’ कार्यक्रम अन्तर्गत निशुल्क खाना तथा फलफुल पानी बितरण कार्यक्रम निरन्तर जारी रहेको साे पार्टीले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले कोराना भाइरस संक्रमित भई अस्पताल भर्ना भएका बिरामी र उनीहरूका परिवारजन (कुरुवा) का लागि आज भैरहवा स्थित भिम अस्पतालमा निःशुल्क खाना तथा पानी वितरण गरेको छ ।

साे पार्टीको ‘जनमुक्तिको जनसेवा’ कार्यक्रम अन्तर्गत सुरु गरिएको निशुल्क खाना तथा फलफुल पानी बितरण कार्यक्रम निरन्तर जारी रहेको साे अभियानका भैरहवा संयोजक डिबी थापाले जानकारी दिए ।
यसका साथै जनमुक्ति पार्टीले सडकमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरु, सडक पेटी तथा पुल मुनी बसेका पीडित ब्यक्तीहरु र भैरहवा बसपार्कमा रहेका मजदुर तथा अलपत्र परेका ब्यक्तीहरुका लागि समेत खाना तथा पानी वितरण गरिएको जनमुक्तिका युवा नेता मोजिब अलिले बताए ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना अस्पताल (धागो कारखाना क्षेत्र), तिलोत्तमा स्थित कोभिड आइसोलेसन सेन्टर र भैरहवा स्थित भीम अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामी र कुरुवाहरुका लागि निःशुल्क खाना तथा पानी वितरण गरेको छ ।
बिगत एकहप्ता अघिदेखि सुरु गरेको अभियान जेष्ठ ३१ सम्म जारी रहने साे पार्टीले जनाएको छ ।
साे अभियान अन्तर्गत स्थानिय नगर भित्र रहेका मजदूर तथा विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका उपाध्यक्ष रेखा प्रसाद चौधरीले जानकारी दिए ।

जनमुक्तिको जनसेवा अभियानमा पार्टीका युवा नेता रोशन अस्लामी मगर, माया सारु, कुसुम पुन, आकाश आले, प्रदीप चौधरी लगायतका युवाहरुको सहभागीता रहेको थियो । छ ।
दाेस्राे लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा जेठ ३१ गतेसम्मको लागि थपिएको र निषेधाज्ञाका कारण अस्पताल बाहिर सञ्चालित होटल तथा रेष्टुरेण्ट बन्द भएकोले बिरामी र बिरामी कुरुवालाई खाना तथा खाजा खान समस्या परिरहेको अवस्थालाई मध्यनजर गरि उनिहरूलाई निशुल्क खाना तथा खाजा बितरण गरिएको साे पार्टीले जनाएको छ ।
त्यस्तैगरि लकडाउनकै कारण पेसा व्यवसाय, उद्योग, कल–कारखाना बन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरूलाई बिहान सांझको छाक टार्न समस्या परेकोले उनिहरूलाई पनि निशुल्क खाना तथा खाजा कितरण गरिएको पनि साे पार्टीले जनाएको छ ।