काठमाण्डाै,२२ जेठ । आज विश्व वातावरण दिवस मनाइँदैछ ।
पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघकाे महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्षेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । वातावरण दिवस मनाइरहँदा विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।
नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ । यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ । सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि त्यसको कार्यान्वयन फितलो हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन हुन सकेको छैन ।
दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जलवायु, जमिन र जङ्गलसँग वनस्पति, जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाइ स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सबैले सार्थक बनाउन प्रण गर्ने दिनको रूपमा लिएको बताएकी छन् ।