Share this News on Social Networking Pages

बुटवल,२० जेठ । गैरसरकारी संस्था बेस नेपालले काेराेना महामारीका कारण भएको बन्दाबन्दीमा घरमै बस्न बाध्य बालबालिकाहरूलाई लक्षित गरि बैकल्पिक सिकाई सहजिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बेस नेपालले किशोरी शिक्षा तथा शसक्तिकरण कार्यक्रम अन्तर्गत उडान शिक्षक मार्फत घरमा रहेका विद्यार्थीहरुको सिकाईमा सहयोग पुर्‍याउन रूपन्देही जिल्लाका दुई स्थानीय तहमा साे कार्यक्रम सञ्चालन गरिएको बेस नेपालले जनाएको छ ।

बेस नेपालबाट रुपन्देही जिल्लामा संचालित किशोरी शिक्षा तथा शसक्तिकरण कार्यक्रम अन्तर्गत रूपन्देहीमा सञ्चालित उडान सिकाइ केन्द्रमा अध्ययनरत ९६ जना बालिकाहरुलाई कार्यक्रममा सहभागी गराइएको जनाइएको छ ।
बन्दाबन्दीको कारण बालिकाहरुलाई ४ जना उडान शिक्षकहरुको सहयोगमा फोनमार्फत सिकाइ सहजीकरण गरि बालिकाहरुलाई घरमै बसी पढाई र बिभिन्न क्रियाकलापमा क्रियाशील गराउन अभिभावकहरुसँग समेत निरन्तर फोन सम्पर्क गरि बालिकाहरुको घरमा पढ्ने वातावरण तथा कोभिडबाट बच्ने सुरक्षाका उपायहरुका बारेमा निरन्तर सहजीकरण गरिएको छ ।

सहजीकरण कार्यक्रम अन्तर्गत घरमा बसेर आफ्ना बालबालिकालाई के क्रियाकलाप गर्ने, कसरी गराउने भन्ने विषयमा अभिभावकसँगसमेत छलफल गरिएको सिकाई सहजीकरण कार्यक्रममा संलग्न उडान शिक्षक अनिता गुप्ताले जानकारी दिइन् ।
बालिका सिकाई सहजीकरका लागि नेपाल सरकारले अवलम्बन गरेको पाठ्यक्रममा आधारित क्रियाकलापहरु घरमै बसेर गर्नका लागि सहजिकरण गरिने उनले बताइन् । उडानमा अध्ययनरत बालिकाहरुलाई पाठ्यपुस्तकमा रहेको बिषयबस्तुको पठन साथसाथै सिकाईका आधारमा कार्यतालिका निर्माण, चित्र बनाउने, चित्रमा रङ्ग लगाउने, कथा सुनाउने, गीत गाउने, निबन्ध लेख्न लगाउने, सामाजिक चेतना बढाउन गर्न सकिने उपाय लगायतका क्रियाकलापहरुमा बालिकाहरुलाई सहजीकरण गरिएको शिक्षक गुप्ताको भनाइ छ ।
फोनमार्फत बालिकाको सिकाई सहजीकरण कार्यक्रमले उनिहरुलाई घरमा समेत सिक्न र व्यस्त राख्न सहयोग पुर्‍याएको बिचौवापुर उडान सिकाई केन्द्रमा अध्ययनरत बालिकाका अभिभावक रामअचल पासीले बताए ।

‘नानीहरु शिक्षकले फोन गरि शिक्षण गर्दा, पढ्न पाउदा र सिकाई सम्बन्धी क्रियाकलाप गर्न पाउदा खुसी हुन्छन्,’ उनले भने । ‘नानीहरुलाई गरिने फोन सहजीकरणले बन्दाबन्दीमा पनि सिकाईको वातावरण बनाएको छ ।’ ‘धेरै राम्रो लागेको छ, उनले थपे ।’ घरमा बसेका बालिकाहरुलाई सिकाईमा सहयोग गर्नका लागि अभिभावक समेत क्रियाशील हुने गरेको र यस्तो अभ्यासले बालिकाहरुको सिकाईमा राम्रो सहयोग गर्ने बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेले बताए ।

संस्थाले कोभिडको समयमा वैकल्पिक सिकाई सहजीकरण कार्यक्रमहरु सञ्चालनमा ल्याएको बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले जानकारी दिए ।
सञ्चालित कार्यक्रम जिल्लाका २ वटा स्थानिय तहका बालिकाहरुलाई लक्षित भएको उनले बताए । मर्चवारी र गैडहवा गाउँपालिकामा संचालित किशोरी शिक्षा तथा शसक्तिकरण कार्यक्रमको माध्यमबाट यस बर्ष ९६ जना बालिकाहरुलाई औपचारिक शिक्षाको लागि विद्यालयमा भर्ना गरिने साथै यसै बर्षबाट रुपन्देही र नवलपरासी पश्चिम गरि ६ वटा स्थानिय तहमा ४५० जना विद्यालय बाहिर रहेका बालिका लक्षित कार्यक्रम बिस्तार गरिएको निर्देशक पाण्डेले जानकारी दिए ।