काठमाडौं,१६ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।
कोरोना महामारीका कारण जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बाेर्डद्वारा गठित सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको उनले बताए ।
एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन
बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो ।
आइतबार बसेको परीक्षा बोर्डको बैठकले समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा लैजान आग्रह गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
प्रतिवेदनमा विभिन्न विधि सुझाइएको र सोही प्रतिवेदन मन्त्रालय पठाएकाे उनको भनाइ छ । उनले भने, ‘अब मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषद लैजाला ।’
परीक्षा बोर्डले अहिले एसईईका लागि अनुमति माग गरेको छ र कक्षा १२ का लागि केही समय पर्खेर आवश्यक परे त्यसका लागि पनि अनुमति माग्ने बोर्ड अध्यक्ष प्रा. डा. पौडेलले बताए ।
जेठ १३ गतेदेखि परीक्षा सुरु गर्ने गरी एसईईको प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको अवस्थामा महामारीका कारण परीक्षा रोकिएपछि ५ लाख १७ हजार विद्यार्थी तनावमा छन् ।
कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।