काठमाडौँ,१६ जेठ ।
विश्वभरि छरिएर रहेका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ आयोजना गर्ने भएको छ ।
प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन् ।
प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन् ।

आयाेजकले शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताबारे जानकारी गराएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले भने, ” एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ। यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु।” उनले कार्यक्रम सफल पार्न सहयोगका लागि सबैलाई आग्रह समेतको गरे ।

एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।

त्यस्तै विशिस्ट सङ्गीतकार शम्भुजीत बाँस्कोटाले आफुले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभा हरु जन्माउने विश्वास व्यक्त गरे। उनले सन् १९८७ मा प्रज्ञा प्रतिस्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गर्दै एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतको माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई, गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी , महासचिव डा. हेमराज शर्मा, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवि देवकोटाले पनि शुभकामना दिएका थिए ।

एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले भने- “एनआरएनएमा आवद्ध सबै साथीहरू यो महान कामका लागि आआफ्नो ठाउँमा जुटिरहनुभएको छ ।” नेपालमा बढीरहेको कोरोना संक्रमणप्रति एनआरएन निकै चिन्तित र संवेदनशील रहेको भन्दै उनलेे यस्तो अवस्थामा नेपालमा रहेका हाम्रा सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनले सक्दो सहयोग संकलन गरिरहेको जानकारी गराए ।
कार्यक्रमको मूल आयोजक, संस्कृति तथा सम्पदा उपसमितिका संयोजक, गोविन्द प्रसाद गौतम ले लामो तयारी गरेर समितिले यो कार्यक्रम सार्वजनिक गरेको भन्दै कार्यक्रम सफल पार्न सबैसँग आग्रह गरे ।
विश्वव्यापी रुपमा घातक बन्दै गइरहेको कोरोना संक्रमणका कारण पीडा व्यहोरी रहेका नेपालीका निम्ति यो कार्यक्रमले केही भए पनि राहत पुग्ने आशा लिएकाेे उनले बताए ।

त्यस्तै कार्यक्रममा संस्कृति तथा सम्पदा उपसमितिका सदस्य सचिव खड्ग न्यौपानेले लोकप्रिय गीत ‘यो देशमा म एउटा मानिस खोजि रैछु’ भन्ने गीत गएर सुनाएका थिए भने न्यौपाने र दिक्पाल पङ्गेनीले रोचक ढंगले कार्यक्रम संचालन गरेका थिए। ।
कार्यक्रममा एनआरएनए द सिंगरको लोगो र जिङ्गल सार्वजनिक गरिएको थियो।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।