बुटवल,१२ जेठ । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।
भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।
यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।
सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो । कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
विगतका वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सहित भव्य रूपमा बुद्धजयन्ती मनाउने गरिन्थ्यो । ‘यस वर्ष भव्य रूपमा मनाउने तयारी थियो, तर कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि औपचारिक कार्यक्रम गरेर मनाउन नसक्ने भयौं’ कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भने ।
बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको राईले बताए ।
यसैबीच बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले शुभकामना सन्देश जारी गरि बुद्वका उपदेशहरू आज बुद्व दर्शनका रूपमा स्थापित भएको जनाएका छन् ।