Share this News on Social Networking Pages

लमजुङ,५ जेठ । बुधबार बिहान गएको भूकम्पबाट लमजुङमा ६ जना घाइते भएका छन् भने २७ घरमा क्षति पुगेकाे छ । भुकम्पपछि निरन्तरजसो गएकाे परकम्पका कारण त्रसित स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् ।

बिहान ५ बजेर ४२ मिनेटमा मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेलाई केन्द्रविन्दु भएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहानको भूकम्पपछि सोही ठाउँमा २० भन्दा बढी परकम्प गएका छन् । केन्द्रले बिहानको भूकम्प पनि २०७२ वैशाखको गोरखा भूकम्पकै परकम्प भएको जनाएको छ ।
भूकम्पमा परी अहिलेसम्म ६ जना घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगदीश रेग्मीले जानकारी दिए ।
घाइतेमध्ये ३ जना घरको पर्खाल खसेर र ३ जना भागदौडका क्रममा घाइते भएको उनले बताए । रेग्मीका अनुसार मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंसीसहर नगरपालिका–६ चनौटे बस्दै आएकी ४० वर्षीया उमा गुरुङ, बेंसीसहर ११, रामचोकबेंसीकी ८३ वर्षीया खवकुमारी पाण्डे र दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घर भत्किँदा घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–६, ठूलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी, बेंसीसहर नगरपालिका ८, ओख्लेफाँटकी २९ वर्षीया खुसीमाया गुरुङ र बेंसीसहर–८ सेराकी ६० वर्षीया सुमित्रादेवी श्रेष्ठ भागदौडका क्रममा घाइते भएका छन् । घाइतेमध्ये दोर्दीका तामाङबाहेक सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तामाङको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घाइतेको अस्पतालमा उपचार गराइरहेको र क्षतिका थप विवरण संकलन भइरहेको बताए । उनले पनि २७ वटा घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको बताए ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र मात्रै २० भन्दा बढी घरमा क्षति पुगेको जानकारी दिए ।