Share this News on Social Networking Pages

काठमाण्डाै,३ जेठ । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको छ । तौ ते नाम गरेको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाण्डौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल लागेको र त्यो अरब सागरबाट आएको बादल भएको उनलेे बताए ।
कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू भएको उनको भनाइ छ ।

सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिए । पर्सि बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकोले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने मौसमविद अर्यालले बताए ।

यसैबीच मौसम पूर्वानुमान् महाशाखाले सगरमाथा आरोहणमा नजान आग्रह गरेको छ ।
अरब सागरमा विकसित आँधीका कारण नेपालका हिमाली क्षेत्रका मौसम प्रतिकूल हुने भएकोले आरोहणमा नजान र माथिल्ला शिविरमा पुगेकाहरुलाई पनि तल सुरक्षित ठाउँमा झर्न अनुरोध गरेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।