बागलुङ,३१ वैशाख । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा जिल्लाकाे निसीखाेला-२ रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेश कुँवर रहेका छन् ।
फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका उनिहरूकाे माटोको ढिस्काेले पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
मृत्यु हुने एकैघरका आमा-छोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
घटना दिउँसो साढे दुई बजे भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिवाखोलाकाे प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले जनाएको छ । उनका अरु दुई छोरा रहेको स्थानीयवासीले जानकारी दिए ।