Share this News on Social Networking Pages

बुटवल, १४ बैशाख ।
रुपन्देहीमा बिगत चार दिनयता कोरोना संक्रमणको दर ह्वात्तै बढेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

मंगलबार मात्रै थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै रुपन्देहीमा सक्रिय कोरोना संक्रिमितको संख्या १ हजार ८ सय ८७ पुगेको छ । पछिल्लो २४ घन्टामा रुपन्देहीमा २ जनाको मृत्यू भएको छ । बैशाख १० गते २ सय २६ जनामा कोरोना संक्रमण देखा परेको थियो ।

त्यसको भोलीपल्ट ११ गते ३ सय १, बैशाख १२ गते २०४, १३ गते २६३ जना कोरोना संक्रमण देखा परेको थियो । तर, मंगलबार भने झन्डै दोब्बर ४ सय १९ जना नयाँ कोरोना संक्रमित देखा परेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार परीक्षण गरिएका मध्ये ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएकोे छ । रुपन्देहीमा अहिलेसम्म १ सय ७५ जनाको मृत्यू भएको छ । दुई सातामा रुपन्देहीमा १८ जनाको मृत्यू भएको छ । संक्रिमित भएका मध्ये ७२ जना गम्भिर लक्षणका बिरामी छन । १७ सय ४३ जना भने होमआइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।