आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न माग
बुटवल,१४ वैशाख ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलले कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रदेश संसदीय दलका नेता विरेन्द्र कुमार कानोडियाले आज मुख्यमन्त्री शंकर पोखरेललाई एक ध्यानाकर्षण पत्र प्रेसित गर्दै कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको ध्यानाकर्षण गराएको हो ।
कोभिड—१९ संक्रमितको संख्या ह्वातै बढ्नुका साथै गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने विरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो रहेको र भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न संसदीय दलले माग गरेको छ ।
त्यस्तै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन नगरेकोले स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको भन्दै स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन र अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ ।
सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न र कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक बनाउन पनि कांग्रेसको माग छ ।
त्यस्तै कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाउन र खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।









