एजेन्सी,१४ वैशाख ।
भारतमा एकैदिन ३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २३ हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको यो छैठौं दिन भएको बताइएको छ ।
कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो संख्या ठूलो भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
भारतमा अहिलेसम्म एक करोड ७६ लाख ३६ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
यसैगरी पछिल्लो २४ घण्टायता दुुई हजार ७७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म एक लाख ९७ हजार ८९४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । भारतमा अहिले कोभिसिल्ड, को भ्याक्सिन र स्पुटनिक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुटनिक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २६ सम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।
भारतको केन्द्रीय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । त्यहाँ सोमबार एकैदिनमा २० हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र ३८० जनाको मृत्यु भएको थियो । दिल्लीमा कोरोना शुरु भएदेखि हालसम्म १४ हजार ६२८ व्यक्तिको मृत्यु भएको छ ।–सिन्ह्वा