बुटवल,१३ वैशाख ।
लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशका चार कोरोना बिशेष अस्पतालहरुलाई १ करोड ७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ ।
आज बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले प्रदेश सरकारद्धारा सञ्चालित बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५०÷५० लाख रुपैंया र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
कोरोना बिशेष अस्पतालहरुमा अक्सिजन बेड थप गर्ने प्रयोजनका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार सेर बहादुर केसीले जानकारी दिए ।
बैठकले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत गरेको छ ।