काठमाडौं,१३ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।
आइतबार राति चेन्नईमा भएको खेलमा दिल्ली र हैदरावादले समान १५९ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट छिनोफानो भएको होे ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
हैदरावादलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा केन विलियम्सन र जगदिसन सुचिता मिलेर १५ रन जोडेका थिए । विलियम्सनले अविजित ६६ रन बनाए । सुचिथले ६ बल खेल्दै अविजित १५ रन जोडे । दिल्लीका अभेस खानले ३ र अक्सर पटेलले २ विकेट लिए ।
दिल्लीका लागि पृथ्वी शले ५३ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३७, स्टिभ स्मिथले अविजित ३४ र शिखर धवनले २८ रन बनाए । हैदरावादका सिदार्थ कउलले २ र राशिद खानले १ विकेट लिए ।
सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै हैदरावादले ७ रन जोड्यो । ८ रनको लक्ष्य दिल्लीले विना क्षती पूरा गर्दै खेल जित्यो ।
यस सिजनमा चौथो जित हात पारेको दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
५ खेलबाट ८ अंक जोड्दै दिल्लीले रोयल च्यालेन्जर्स बेंगलोरलाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।
सिजनको चौथो हारपछि ५ खेलबाट २ अंक रहेको हैदरावाद सातौं स्थानमा छ ।