Share this News on Social Networking Pages

काठमाडौं,१२ वैशाख ।
बाँकेमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मेडिकल कलेज कोहलपुरमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको छ । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।

यसैबीच बाँकेमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका हुन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

वैशाख ३ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था सामान्य भएकाले उनी घरमै बस्दै आएका थिए । उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।