बुटवल,१० वैशाख ।
लुम्बिनि प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेशका डेडिकेटेड कोभिड अस्पतालहरुलाइ स्तरोन्नति गरी यथाशीघ्र आवश्यक उपकरण लगायत बेड संख्या थप गरी जनताहरुलाइ प्रभावकारी सेवा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डे लम्साल सहित आज बसेको समितिको बैठकले कोभिड –१९ को दोस्रो लहरको महामारी नेपालमा पनि भित्रिसकेको भन्दै प्रदेशका डेडिकेटेड कोभिड अस्पतालहरुलाइ स्तरोन्नति गरी यथाशीघ्र आवश्यक उपकरण लगायत बेड संख्या थप गरी जनताहरुलाइ प्रभावकारी सेवा उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले प्रदेश भित्रका १२ वटै जिल्ला अस्पतालहरुलाइ कोभिड अस्पतालको रुपमा थप सेवा यथाशीघ्र उपलब्ध गराइ सेवा सञ्चालन गर्न समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै चालु आ.व.मा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा खर्च हुन नसक्ने विनियोजित बजेटलाइ तत्काल रकमान्तर गरी कोभिड अस्पतालहरुको सेवामा खर्च गर्ने ब्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको समितिका सभापति दृगनारायण पाण्डेयले जानकारी दिए ।
गत बर्ष शिक्षातर्फको भैतिक पूर्वाधार निर्माणमा विनियोजन भएको बजेट न्यून रहेको भन्दै समितिले आगामी आ.व. २०७८÷७९मा सो रकम बृद्धि गरी दोब्वर बनाउन निर्देशन दिएको छ ।
बैठकले महिला विद्यालयको हकमा बजेट न्यून भएकोले आगामी आ.व.मा बृद्धि गरी छात्रावास प्रवन्ध समेतको लागि बजेट ब्यवस्थापन गर्न निर्देशन समेत दिएको छ ।
समितिका सभापति दृगनारायण पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्यहरु अष्टभुजा पाठक,अर्जुन केसी,दीपा बिक,कमला देवी बिक,सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थ,स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरी,प्रदेश सभा सचिवालयका सचिब दुर्लभ कमार पुन लगायतको सहभागिता रहेका समितिका निमित्त सचिब दीवाकर पन्थीले जानकारी दिए ।