बुटवल,९ वैशाख ।
अभिभावक संघ रुपन्देहीले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गरेको छ ।
रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा पठन पाठन बन्द गर्ने प्रशासनको निर्देशनले शैक्षिक सत्रको अन्त्यमा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको मनोवैज्ञानिक प्रभाव परेको भन्दै स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गर्दै संघले आज लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीको नेतृत्वमा गएको अभिभावक संघको टोलीले आज सामाजिक विकास मन्त्रालयका उप सचिव थानेश्र ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।
रुपन्देही जिल्लाका बुटवल र भैरहवा बाहेकका अन्य पालिकाका विद्यालयहरुले निर्वाध रुपमा विद्यालय सञ्चालन गरी परीक्षा सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलकै बुटवल बहुमुखी क्याम्पसमा आजका दिनमा पनि परीक्षा चलिरहेको भन्दै संघले बुटवल र भैरहवाका विद्यालयहरुमा पनि स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।