काठमाडौं,९ वैशाख ।
आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले दिवसको अवसरमा एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए । उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न वैश्विक तापमानमा भइरहेको बढोत्तरीलाई सिमित गर्न र जैविक विविधताको रक्षा गर्न आह्वान गरे ।
‘विश्व–आमा पृथ्वी दिवस’ का रुपमा मनाइने यो दिवसको पूर्व सन्ध्यामा दिएको सन्देशमा गुटरेशले दिवस मनाइरहँदा प्रकृतिमाथि मानवजातिको दुव्र्यवहार जारी रहेको बताएका छन् ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम युएनईपीका अनुसार विश्व आमा पृथ्वी दिवसले दिगो अर्थव्यवस्थालाई अझै अगाडि बढाउन आवश्यक सहयोग गर्छ जसबाट आम जनता र पृथ्वी दुवैलाई फाइदा हुन्छ ।
युएनईपीले अहिले पृथ्वी दिवस मनाइरहँदा अष्ट्रेलियामा आगलागी, कीर्तिमानी गर्मी, केन्यामा सलहको प्रकोप, मानव वस्ती रहेका हरेक महादेशमा कोरोनाको कहरले विश्वव्पायी स्वास्थ्य संकट जस्ता समस्याहरु झेलिरहनु परेको जनाएको छ ।
संयुक्त राष्ट्र संघीय एजेन्सी युएनईपीले जलवायु परिवर्तनको असर कम गर्नका लागि पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएको छ । पेरिस सम्झौता कार्यान्वयनका लागि १ सय ९० देशले प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । पृथ्वीमाथि भइरहको मानवीय दोहनबाट पृथ्वी जोगाउनका लागि संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो ।
त्यसअघि विभिन्न देशले फाट्टफुट्ट पृथ्वी दिवस मनाउने गरेको भए पनि संयुक्त राष्ट्र संघको ६३ औँ महासभाको निर्णयपछि विश्वका १ सय ९२ देशमा यो दिवस भव्यताका साथ मनाईदै आएको छ ।