Share this News on Social Networking Pages

काठमाण्डौ,८ वैशाख ।
त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत बुधबार नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ ।

पानी परेर पटक–पटक बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकिएको हो ।

खेल बराबरीमा सकिएपछि दुवै देशले एक÷एक अङ्क बाँडेका छन् ।

यसअघि पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । आजको खेल बराबरी भएसँगै नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुगेका छन् । यससँगै मलेसिया त्रिदेशीय टी–२० शृङ्खलाबाट बाहिरिएको छ ।

नेदरल्याण्ड्सले पाँच अङ्क जोडेको छ भने नेपालको चार अङ्क रहेको छ । मलेसिया एक अङ्कसहित पुछारमा छ । भोलि नेपालले मलेसियासँग खेल्नेछ ।