काठमाण्डौ, ८ वैशाख ।
आज चैत शुक्ल नवमी,देशभर रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ ।
त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको पुत्रका रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको विश्वास गरिन्छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
माडीमा रहेको अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना गरिँदै
श्रीरामनवमीका अवसरमा चितवनको माडीमा रहेको अयोध्यापुरीमा रामसिताको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।
बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । हिजो देवघाटमै बास बसेको रथयात्रा आज गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको अयोध्यापुरी जाने छ । दिउँसो साढे १२ बजे मूर्ति प्रतिस्थापन साइत रहेको छ । गएको असारमा प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।