Share this News on Social Networking Pages

काठमाडौं,८ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सद्वारा मुम्बई इण्डियन्स ६ विकेटले पराजित भएको छ ।

जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेकाे छ ।

चेन्नाईको मैदानमा भएको खेलमा दिल्लीले १३८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

दिल्लीको जितमा अमित मिश्राको प्रदर्शन शानदार रह्यो । मिश्राले मुम्बईका कप्तान रोहित शर्मा, किरोन पोलार्ड, हार्दिक पाण्ड्या र इशान किशनलाई आउट गरे । उनी म्यान अफ द म्याच चुनिए ।

ब्याटिङतर्फ शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ र ललित यादवले नटआउट २२ रन बनाए ।

मुम्बईका जसप्रित बुमराह, राहुल चाहर, किरोन पोलार्ड र जयन्त यादवले एक-एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।

इशान किशनले २६ र सूर्यकुमार यादवले २४ रन जोडे ।