काठमाण्डाै,७ वैशाख । आजदेखि का्राेना बिरूद्वकाे दाेस्रो चरणको खोप अभियान सुरु भएको छ ।
पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।
गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो ।
खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ । खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म खुल्छन् । आफ्नो पालो थाहा पाउनुपर्छ । पहिलो खोप लगाएका कसले कहिले खोप लगाउने भनेर स्वास्थ्य मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ ।
त्यतिबेला अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शववाहन चालक, बैंकका कर्मचारी, सबै सरकारी कार्यालय, सार्वजनिक संस्थानका कर्मचारीहरु, पत्रकार, पालिकाका जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ र कर्मचारीहरुलाई खोप दिइएकाे थियाे । फागुन २३ पछि खोप लगाएकाले भने अहिले पाउने छैनन् । त्योभन्दा अघि पहिलो चरणमा पहिलो मात्रा लगाएकाहरुले मात्रै दोस्रो मात्रा खोप लगाउन पाउँछन् ।
६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई पछिल्लो पटक खोप दिएकाले उनीहरुको पालो जेठमा मात्रै आउँछ । यो खोप पहिलो मात्रा लिएकाहरुले दोस्रो मात्रा पनि अनिवार्य रुपमा लिनुपर्छ । यदि तोकिएको दिनमा खोप लगाउन छुटेमा तत्काल खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
पहिलो प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेको भए फेरि सरकारले आह्वान गरेपछि अर्कोपटक लगाउनुपर्ने हुन्छ ।
खोप लगाउनेमा सामान्य असरहरु देखिएको छ, तर यो सामान्य हो, यसबाट डराउनु नपर्ने चिकित्सकहरूकाे भनाइ छ । अहिले फेरि कोरोनाको दोस्रो लहर पनि आइरहेको छ । खोपले सामान्य शरीर दुख्छ, वा टाउको दुख्न सक्छ त्यसाे भनेर खोप लिन्न भन्नु आफैँले आफैंलाई खतरामा राख्नु जस्तै हुने चिकित्सकहरू बताउँछन् ।
खोप लगाउँदैमा ढुक्क हुने स्थिति भने नहुने जनाइएको छ, यसले जटिलताबाट र संक्रमण फैलिन कम गर्ने हो । पहिलो र दोस्रो मात्राको खोप लगाइसकेपछि पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातको सरसफाइ गर्ने गर्नुपर्छ । भीडभाडमा जानु हुँदैन । यस्ता कुराहरुलाई अनिवार्य अवलम्बन गर्न मन्त्रालयले आग्रह गरेको छ ।