सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक, रात्रिकालीन व्यवसाय पनि बन्द
काठमाडौं,६ वैशाख ।
कोरोनाभाइरस (कोभिड–१९) प्रभावित शहरी क्षेत्रका विद्यालय यही वैशाख मसान्तसम्म बन्द हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणबाट बालबालिका उच्च जोखिममा परेकोल यही वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने र रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ ।
रातिको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ । यस्तै रङ्गशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।