नेपालगञ्ज, ५ वैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
मृत्यु हुनेमा राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो ।
शनिबार राति साढे ९ बजे नै दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीया महिलाको पनि मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९६
जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै बाँके जिल्लाका मात्रै ६० जना कोरोना संक्रिमतकाे मृत्यु भएको छ ।