डा. धर्मागत भट्टराई

सपना उतार्न पङ्ख बिसाएर,
पसिनाको सुगन्ध मिसाएर
छाकछाक काटेर, सिपसित साटेर,
मन र मिहेनत, माटोमा उभिँदा
बिपनाको बत्ति बाटोमा उभिँदा
अँधेरोको ब्यापारीलाई बत्ति बिछट्ट बिझाउँछ !

हामी आँशुका अनवरत उत्पादक त हौँ
हिटलरी च्याम्बरमा पुस्तौं पुस्ता, दशकौं दशक
हामीबाट मनग्गे आँशु निकालिन्छ
गला बटारेर तारिनुअघि, सपना मठारेर मारिनुअघि
हाम्रा आँखा र पसिनाका मनग्गे आँशु
दुहुँदै, संगाल्दै ख्वामितहरु
आँशु बेचेरै उधुम कमाउँछन्
हाम्रा आँशुमै पौडेर कुर्सी समाउँछन्, खुब रमाउँछन्
आँशु रोकिनुहुन्न हाम्रो, तब त डेमोक्रेसी टिक्छ,
भन्छन्- गज्जब चलेको छ, ‘सब ठिक छ’
हेर त, हाम्रो आँशु कस्तो बिक्छ !

थुप्रै ‘-लोजी’ र विज्ञान पढेर पनि अज्ञानी हामी
थुप्रै ठेली, नालीबेली बुझेर पनि अबुझ म
कौशलले कुना र प्रहर, फेरेर गाउँ-शहर
एक मृत्यु-मनोहर मर्न चाहने ‘बिचरा’ हामी
बिचरा ! लाटो सास, प्रमाण र इमानी आश !

नैतिक शिक्षा पढाउने बुज्रुकले
वृद्धाश्रममा बाउआमा छोडेझैँ
केही दौंतरीले पसिनाको मधुपर्क छोडेर
ख्वामितको पाउजल पिउने भएछन्
‘जदौ’ जप्दै जिउने भएछन्
आवाज बताउन टायर बाले हुने भएछ,
क्रान्ति जँताउन घिच्रो ढाले हुने भएछ,
म बबुरो! न पाउ मोल्न सकेँ,
न ‘नाङ्गो बादशाह’ भै निर्बस्त्र लाज खोल्न सकेँ,
न पैसा, र व्यभिचारमा स्वाभिमान घोल्न सकेँ
सिर्फ बोल्न सकेँ,
म घोलक बिनाको एक बलौटे माइनर !

‘कपडा पहिरनु पाप ठानिने ठाउँ’मा उभिएको
एक ‘तालिमप्राप्त टेलरमास्टर’ !
किन सिलाउनुपर्थ्यो मैले च्यातिएका कपडा
किन मिलाउनुपर्थ्यो मैले भत्केका सपना
फुटेकालाई जुटाउन खोज्ने म अग्घोरै पापी
मेरो आवाजलाई
मेरो सपनालाई र सीपलाई फाँसी दिनैपर्छ
मेरो अन्त्यमा तिमी हाँसीदिनैपर्छ
नयाँ कुरा थाल्ने म को हो ?
सिपको दिप बाल्ने म को हो ?
मैले सिलाएका कपडा जलाईदिनु
मैले दिलाएका सपना गलाईदिनु
तब त प्रगतिले सुर झिक्छ
के चिन्ता भो र,
देखाउने बिल्लामा हाम्रो नाम ‘नागरिक’ छ,
अहा ! यो बिल्ला खुब टिक्छ,
हेर ! हाम्रो आँशु कस्तो बिक्छ !

सडक मनग्गे छैनन् , के भो त ?
आँशु हेलीकोप्टरबाट बेचिदिनु
हाम्रो जीउ सुकेमा पैतालामुनि थिचिदिनु
कोही केही भन्नेछैन, कसैको जिब्रो कुँजो छ,
कसैको मुखमा बुजो छ
मुखमा बुजो ठोसेको अमर हुन्छ
मरणशील हामी मर्छौं
हामी झर्छौं,
बुजो कोचेका गोजीका गोटीको कैद पर्छौं
रोटी छिन्ने गोटीहरु जडौरीको माला लाउँछन्,
लाजको ऐनामा ताला लाउँछन्
माला र ताला दिनेको जम्केर भजन गाउँछन्
तब सिप र सपनाहरु !

आफ्नै जन्म-धर्तीमा बजारिन्छन्, थेचारिन्छन्, पछारिन्छन्
किनकि तिनमा इशारामा बज्ने कला छैन; स्तुतिगान भज्ने गला छैन
छाप्रो छ, महलको तला छैन ; पालो आउने घडी र पला छैन
एक्लिएका बृहस्पतिहरु जस्तै,
क्रान्ति भनिएको भ्रान्तिले परेको भार
स्वतन्त्रताको भाषामा गाँस्न नसकेका
हामी बर्षौं फैसला नभएका अदालतका धावक,
महिनौं विकृत निचोरिएका भावक !
दिनहुँ बलात्कृत हुने सपना
अनि पलपल अस्वीकृत हुने हुटहुटी !

अभावको कराहीमा पर्परी भुटिए पनि
सिन्डिकेटको तीरले सिपको शरीर चुटिएपनि
हामीभित्रको धृष्ट मनुष्य,
कपडानै नलाउनेको शहरमा
लाज छोप्ने कपडाको महिमा पढाउन कस्सियो
आँशु झर्दैथिए, हत्कडी कसियो
मुठी सास रगतका छिर्कामा धस्सियो
मेरो पोस्टमार्टम नगर्नु, सिनोसरी छरिदिनु
आफ्ना डम्फुले पाना भरिदिनु
जदौ ख्वामित !
पसिना पोख्नेलाई सजाय दिनैपर्छ, ठिक छ !
तिम्रा छोराले नातिले पनि सिक्छ
यति सुनाइदेऊ है
ननाङ्गिने लाटाहरुको आँशु कस्तो बिक्छ !
साहित्यपाटीबाट