Share this News on Social Networking Pages

जनकपुरधाम, ३० चैत ।
नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिएका हुन् ।

त्यसअघि माओवादी केन्द्रले चार प्रदेशसभा सदस्यले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम दल त्यागको सूचना दिएको थियो ।

पदमुक्त भएका मण्डल धनुषा क्षेत्र नम्बर १ को ख, साह बारा क्षेत्र नम्बर ३ को क र कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को ख बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

बाराका समीर समानुपातिकतर्फबाट निर्वाचित भएका थिए । उनी पदमुक्त भएपछि माओवादी केन्द्रले सूचीको रोलक्रम अनुसार नयाँ प्रदेशसभा सदस्य पठाउन सक्छ ।

यसअघि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी आजै पदमुक्त भएका थिए ।

रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका थिए ।