बुटवल,३० चैत ।
बुटवलमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।
तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।
चैत २१ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमाकी महिलालाई २३ गते बुटवल स्थित कोरोना बिशेष अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ः२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।
यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ः५० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा. गौतमले बताए ।
कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ः१४ बजे मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।