काठमाण्डौ,२९ चैत ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।
कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले विद्यालय बन्द नगर्न आग्रह गरेको हो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति प्रकाशित गरी अघिल्लो पटकको लकडाउनले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यालय बन्दभन्दा संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।
विद्यालयमा स्वास्थ्य सूरक्षा सम्बन्धी सबै सावधानी अपनाउन तयार रहेको भन्दै आपसी छलफलबाट थप सावधानीका उपाय अपनाउनुपर्ने तर बन्द गर्न नहुने विज्ञप्तिमा जनाइएको छ ।
प्याब्सनले सबै शिक्षक–कर्मचारीलाई, सबै शिक्षालयहरूमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपायहरू पालना गर्न÷गराउन विशेष भूमिका निर्वाह गर्न समेत अनुरोध गरेको छ ।
अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको भन्दै प्याब्सनले विद्यालय बन्द गरेर नभई स्वास्थ्य सूरक्षा सावधानी अपनाउदै विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।