बाँके,२९ चैत । बाँके जिल्लामा भारतबाट आएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे जमुनाहस्थित नाकामा चैत ११ गतेदेखि हालसम्म गरिएको स्वास्थ्य जाँचमा शंकास्पद १०९ जनालाई कोरोना एन्टिजेन जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।
शनिबार बिहान भेरी अस्पताल, नेपालगन्जमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँके जिल्लामा चैतयता कोरोना संक्रमण दर बढ्दै गएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
भारतबाट आएका व्यक्तिमा दैनिकजसो नै कोरोना संक्रमण पुष्टि भएको छ । नाकामा नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको हेल्थडेस्कमा स्वास्थ्य जाँच गरेरमात्र नाका पार गर्न पाउँछन् । जसमा २ जना ल्याबका स्वास्थ्यकर्मीसहित पाँच जना स्वास्थ्यकर्मी परिचालन गरीएको छ ।