Share this News on Social Networking Pages

बुटवल,२८ चैत ।
नवरत्न माद्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय बुटवल १५ सेमलारको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयको नवनिर्मित छात्रवास भवनको उद्घाटन तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण र छात्रवृत्ति बितरण गरिएको हो ।

भवनको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री बालकृष्ण खाँणले देश विकासका लागि भौतिक विकास गरेर मात्र नहुने भन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले शैक्षिक क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले नयाँ योजना तथा नीतिहरु ल्याउनुपर्ने भन्दै विद्यार्थीहरुको समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य हेमराज आचार्यले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षक सबै अहोरात्र खटिरहेको बताए ।

कार्यक्रममा परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्नुका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालय बाट अवकाश पाएका ३ जना शिक्षकहरु बद्री नेपाल ,गिरि राज ढकाल र मनोज काफ्लेलाई मायाको बिदाई गरिएको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रहेका हरिध्वज मल्लले विद्यालय व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने भन्दै विद्यालयको शैक्षिक अवस्थालाई अझै सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

उनले विद्यालयलाई आफ्m्नि आमा र पत्निको नाममा १ लाख बराबरको धनराशि प्रदान गर्ने घोषणा गरे । कार्यक्रम पुष्कर भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।