काठमाण्डौ,२८ चैत ।
कोरोना नियन्त्रणका लागि लागु भएको स्वास्थ्य सूरक्षा मापदण्ड उल्लंघन गरेको अभियोगमा नर्वेकी प्रधानमन्त्री इरना सलबर्गलाई जरिवाना तिराइएको छ ।
प्रधानमन्त्री इरना सलबर्गले आफ्नो जन्मदिनमा कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएको स्वास्थ्य सूरक्षा मापदण्ड अन्तर्गत सामाजिक दुरी कायम नगरी पारिवारिक भेला गरी को भन्दै उनलाई २० हजार क्रोनर अर्थात् दुई लाख ८० हजार नेपाली रुपैयाँ जरिवाना तिराइएको पत्रिका ‘द गार्जियन’ले जनाएको छ ।
कोरोना नियन्त्रणका लागि नर्वेको सरकारले १० जनाभन्दा बढी मानिस भेला हुन बन्देज लगाएको अवस्थामा फेब्रुअरीको अन्तिममा उनले आफ्नो ६० औं जन्मदिनको उपलक्षमा १३ जना आफन्तलाई बोलाएर पार्टी गरेकी थिइन् ।
त्यसको चौतर्फी विरोध भएपछि आफूले पार्टी गरेकोमा उनले पटक पटक माफी पनि मागेकी थिइन् ।
मापदण्ड उल्लंघन गरेकोमा गल्ती महसुस गर्दै उनले प्रहरीले तोकेअनुसार जरिवाना तिर्न आफू तयार भएको बताएकी छन् ।
‘म अँझै पनि आफूले कोरोना भाइरस नियन्त्रणको मापदण्ड उल्लंघन गरेकोमा माफी चाहन्छु’, उनले भनिन्, ‘म जरिवाना तिर्न तयार छु ।’