बुटवल,१८ चैत ।
वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय रुपन्देहीका अधिकांस विद्यालयहरुले अवज्ञा गरेका छन् ।
विद्यालय बन्द गर्ने सरकारको निर्णय जिल्लाका अधिकांस निजि विद्यालयहरुले अवज्ञा गरेका हुन् ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले भने सरकारी निर्णय कार्यान्वयन नहुनुमा नियामक निकायको कमजोरी भएको बताए ।
स्थानीय सरकारको उदासीनता कारण विद्यालय बन्द गर्ने सरकारी निर्णय कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।
जिल्लाको सैनामैना,रुद्रपूर,गैडहवाका विद्यालय बन्द भए पनि बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहका विद्यालय बन्द नभएको पौडेलले जानकारी दिए ।
बुटवल स्थित एभरेष्ट बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कृष्ण न्यौपानेले भने बुटवलकै न्यु होराइजन बोर्डिङ्ग स्कुल,दीप बोर्डिङ्ग लगायतका विद्यालयहरु मंगलबार पनि बन्द नभएकोले आफुहरुले बुधबारदेखि विद्यालय सञ्चालन गरेको बताए ।
उता बुटवल उपमहानगरपालिका शिक्षा शाखाका अधिकृथ टीकाराम पन्थीले भने विद्यालय सञ्चालन भएको बारे जानकारी नभएको भन्दै खुलेको पाइए बन्द गर्न निर्देशन दिने प्रतिक्रिया दिए ।