Share this News on Social Networking Pages

मुलुकमा बिकसित घटनाक्रमलाई दिएर दलहरुबीच घोचपेच
प्रकाश खनाल
बुटवल,१८ चैत ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु भएको छ ।

अधिवेशनको पहिलो बैठकमा दलको तर्फबाट मन्तव्य राख्दै दलका नेताहरुले मुलुकमा बिकसित घटनाक्रमलाई लिएर घोचपेच गरे ।

बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बिरेन्द्र कुमार कानोडीयाले नेपाली जनताले तत्कालिन नेकपालाई दुई तिहाई हाराहारीको बहुमत दिए पनि नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत बिपरित संविधान र लोकतन्त्रलाईनै सिध्याउने खेलमा लागेको आरोप लगाए ।

प्रधानमन्त्रीबाट भएको संसद बिघटन असंबैधानिक ठहर गरेर संसद पुनस्र्थापना गरेपछि पनि ओली प्रधानमन्त्रीको कुर्चीमा बसिरहनु नैतिक मुल्य मान्यता बिपरितको कार्य भएको बताए ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको भन्दै उनले अदालतले अलग अलग बस भनेर भनिसकेको अवस्थामा पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिनु र सरकारमा बसेर दुई वटा डुंगामा खुट्टा राखेको आरोप लगाए ।

बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले भने संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै चुनाबमा जाने कुरालाई प्रजातन्त्र बिरोधी कदम भन्न नमिल्ने जिकिर गरे ।

आफुहरुले प्रदेशमा बिगतदेखिनै सहमति र सहकार्यबाट अगाडी बढ्ने नीति लिदै आएको र आगामि दिनमा सोही नीति अनुरुप अगाडी बढ्ने भन्दै उनले त्यसलाई कसैले चुनौती दिए चुनौतीको सामना गर्ने बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले भने हामिहरु एकै ठाउ बस्छौं भन्दा अदालतले अलग अलग बस भनिदिएको भन्दै अदालतको निर्णय बिरुद्ध पुनरावलोकनको निवेदन परेकोले छिट्टै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

उनले माओवादीहरुलाई बिगतदेखिनै कमजोर बनाउन खोज्ने र कमजोर आकेर हेप्ने प्रबृत्ति देखिदै आएको भन्दै सबैको अस्थित्व स्वीकार गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कम्युनिष्ट पार्टीलाई व्यवस्थापन गर्न नसक्दा र सत्ता सञ्चालनमा कुशलता देखाउन नसक्दा संसारबाट कम्युनिष्ट पार्टी पलायन भएको भन्दै उनले शब्दमा प्रतिष्पर्धात्मक राजनीतिक व्यवस्था भने पनि व्यबहारमा त्यसो नहुँदा समस्या आएको बिचार व्यक्त गरे ।

बैठकमा जनता समाजवादी पार्टीका सचेतक सन्तोष कुमार पाण्डेयले जब जब मधेसी तथा थारुहरु समस्यामा पर्छन तब राष्ट्रियताको कुरा उठ्ने गरेको भन्दै आफुहरुका माग जसले सम्बोधन गर्छ उसैलाई सहयोग गर्ने बताए ।

राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले पछिल्लो समय सत्ता टिकाउन मुलुकको राष्ट्रिय अस्मितामाथि सौदाबाजी गर्ने प्रयास गरिएको आरोप लगाइन् ।
आन्दोलनका क्रममा कसैमाथि लगाइएका झुठा मुद्दा खारेज गर्नु स्वभाविक भए पनि सत्ता स्वार्थका लागि फौजदारी अपराधका मुद्धा फिर्ता लिने कुरा स्वीकार्य नहुने चेतावनी दिइन् ।

आजको बैठकले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै आजकै बैठकमा सामाजिक विकास समितिका सभापति दृग नारायण पाण्डेयले ‘प्रदेश विश्वविद्यालयको स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक’पेश गरेका थिए ।

प्रदेश सभाको अर्को बैठक बिहिबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।