काठमाण्डौ,१६ चैत ।
त्रिदेशीय फुटबल कपको उपाधि नेपालले हात पारेको छ ।
काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपालले उपाधि हात पारेको हो ।
नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राई र ४२ औँ मिनेटमा विशाल राईले एक÷एक गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बंगलादेशले एक गोल गरेको हो । बंगलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।
यो जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बंगलादेशलाई हराएको थियो ।
लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा प्रवेश गरेको थियो । बंगलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।
आजको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ । पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले आज दुई गोल गर्दै गोलको खडेरी तोडेको हो । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन ।
उपाधिसँगै नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले भने तीन हजार डलरमै चित्त बुझाउनु परेको छ ।
यही महिना आयोजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबल खेल्ने महर्जनले बताएका छन् । खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई गार्ड अफ अनर प्रदान गरेका थिए ।