काठमाडौं,१६ चैत ।
सरकारले मंगलबारदेखि चार दिन सम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि चार दिन सम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताए ।

गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण बढेको छ ।

लामो समयको खडेरीले हावा सुख्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ ।
यसका साथै देकाका बिभिन्न ठाउँहरुमा डढेलोका घटना बढेकाले पनि वायु प्रदूषित भएको छ ।