Share this News on Social Networking Pages

दर्लिङ गाउँ युवाविहीन
बागलुङ,१६ चैत । बागलुङको बल्देधुरीमा होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् ।
जिल्लाको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएका बागलुङका युवाहरुको दुुई समूहबीच झडप हुँदा उनिहरूकाे मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले जानकारी दिए । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् ।

बल्देधुरीमा प्रत्येक वर्ष होलीका दिन त्यहाँ नाचगान हुन्छ । आइतबार पनि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको समूह त्यहाँ होली खेल्नका लागि बल्देधुरी चौरमा पुुगेको थियो ।

निसिखोला गाउँपालिका–७ राजकुटका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै बडिगाड गाउँपालिका–१० दर्लिङ हुँदै बल्देधुरीतर्फ जाँदै थिए । सोही क्रममा राजकुटका युवाहरुले दर्लिङमा बन्दै गरेको भानु माविमा काम गर्ने मजदुरहरु र दर्लिङकै केही स्थानीय युवाहरुलाई कुटपिट गरेका थिए

राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै युवाहरुलाई कुटपिट गर्न थालेपछि दर्लिङका स्थानीयहरु आक्रोशित थिए । यता, राजकुटका युवाहरुको समूह दर्लिङ गाउँ हुँदै बल्देधुरी चौरमा पुगे जहाँ दर्लिङका युवायुवतीको समूह पहिलेदेखि नै होलीका क्रममा नाचगान गरिरहेका थिए ।

राजकुटका युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अधिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।

राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै चेलीबेटीलाई अभद्र व्यवहार गरेको सुनेपछि दर्लिङका गाउँलेहरु भेला भएर बल्देधुरी पुगे । त्यसपछि दुबै समूहका युवा र गाउँलेबीच झडप भयो । सो झडपमा निसिखोला गाउँपालिका–७ राजकुटका युवाहरुलाई छानीछानी कुटपिट गरियो । केही युवाहरु त्यहाँबाट भागे । युवाहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईलाई बल्देधुरी चौरको भीरबाट फालियो । दुवै युवाको मृत्यु भयो ।

अपरान्ह करिब ४ बजे दुई जनाको मृत्यु भएपछि दुबै समूहका युवाहरु तितरबितर भए । घटनाबारे प्रहरीलाई जानकारी पाएपछि साँझ ७ बजे स्थानीय प्रहरी घटनास्थलमा पुगेको थियोे । घटनास्थल स्थानीय प्रहरी चौकीबाट सवारीसाधनबाट करिब ३ घण्टाको दूरीमा पर्छ भने जिल्ला सदरमुकामबाट करिब ७ घण्टाको यात्रामा पुग्न सकिन्छ । जिल्ला प्रहरी कार्यालयको टोलीपनि राति करिब ११ बजे घटनास्थल पुुगेको थियो । घटनास्थल पुगेर राती करिब १ बजे भीरबाट फालिएका युवाहरुको उद्धार गरिएको थियो, जतिबेला उनीहरुको मृत्यु भइसकेको बागलङुका एसपी कृष्ण बहादुर पल्लीमगरले बताएका छन् । उद्धारपछि युवाहरुको शव स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।

घटनालगत्तै बडिगाड गाउँपालिका १० दर्लिङ गाउँका युवाहरु फरार भएका छन् । घटनालगत्तै स्थानीय युवाहरु गाउँ नजिकैको जङ्गलतर्फ भागेको निसीखोला गाउँपालिका–७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले बताए ।