सप्तरी,१४ चैत । अस्पतालमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाल रहेका छन् ।
शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक धमलाले बताए ।
आराेपित डा जैसवाललाई अस्पतालले समेत तत्कालै निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
अस्पतालबाट डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार डाक्टरलाई भेट्न पुगेकी महिलालाई बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको पिडित महिलाको भनाइ छ ।
डिस्चार्ज भइसकेको अवस्थामा अस्पतालकाे कार्डमा पुनः केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन्। डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको दाबी गरेका छन् ।
पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छन् । आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमला बताए।