काठमाडौं,१२ चैत ।
हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम क्षेत्रका नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखिएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले उनिहरुलाई आइसोलेसनमा राख्न निर्देशन दिएको छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । त्यहाँ कोरोना भाइरसको ‘डबल म्युटेट भेरियण्ट’को भेटिएपछि नेपालमा उच्च सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा पनि नयाँ भेरियन्ट संक्रमण फैलिएको जनस्वास्वास्थ्य विज्ञहरुले आशंका गरेका छन् । तर हालसम्म नेपालमा नयाँ भेरियन्टको कोरोना पुष्टी गर्न जिन सिक्विन्सिङ काम भएको छैन । जिन सिक्विन्सिङ गर्न प्राविधिक कुराहरु मिलाइरहेको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की प्रमुख डा. रुना झाले बताइन् ।