Share this News on Social Networking Pages

काठमाण्डाै,१२ चैत ।
भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । भारतको यो निर्णयले नेपालमा पनि असर पर्ने भएको छ ।

नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज यही महिनाभित्र आउने भनिए पनि भारतले खोप निर्यातमा रोक लगाएसँगै अनिश्चित बनेको छ ।

भारतले पठाउनु पर्ने बाँकी १० लाख डोज कहिलेसम्ममा आउँछ भन्नेमा अन्योल रहेको विज्ञले बताएका छन् । खरिद गरिसकेकाे खाेप पठाउनुको विकल्प नभएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले बताए ।

भारतीय खोप उत्पादक कम्पनीले खोपको पैसा लिइसकेकाले उसले खोप पठाउनै पर्ने उनकाे भनाइ छ । यसबीचमा कम्पनीसँग भएको छलफलमा नेपाललाई प्राथमिकतामा राखेर खोप दिने प्रतिबद्धता आएकाले ढिलो गरी भए पनि खोप आउने उनले बताए ।

भारतले पठाउनुपर्ने १० लाख डोज खोप नआएपछि नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान प्रभावित भएको छ ।

नेपालमा सबैभन्दा पहिले गएको माघ ८ गते भारतबाट अनुदानमा १० लाख डोज खोप आएको थियो । यो खोप सरकारले माघ १४ गतेदेखि अग्रपंत्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको थियो ।

यसपछि भारतसँग सरकारले २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोजमात्रै भित्रिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको थियो ।

कोरोनाविरुद्धको पहिलो डोज लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो डोज दिने भनिए पनि अन्योल भएको छ । भारतसँगै कोभ्याक्स सुविधामार्फत आउने बाँकी खोप कहिलेसम्म आउँछ भन्ने निश्चित भइनसकेकाले यसबारे स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो मात्राले ७० प्रतिशत काम गर्ने भएकाले दोस्रो मात्रा लगाए पनि असुरक्षित नहुने बताएपछि दोस्रो मात्रा दिने या नदिने भन्नेबारे मन्त्रालयले छलफल थालेको हो । नेपालमा अहिले सात लाख डोज खोप मौज्दातमा छ ।

मौज्दातमा रहेको यही खोप पहिलो डोज लगाएकाहरुलाई दिने भनिएको थियो । तर अब बाँकी रहेको यो खोप पहिले लगाएकालाई दिने कि नयाँलाई दिने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

‘दोस्रो मात्रा नपाए पनि असुरक्षित भइन्छ भन्ने होइन, विश्व स्वास्थ्य संगठनले पनि एक मात्रा मात्रै लगाए पनि ७० प्रतिशत सुरक्षित रहने बताइसकेको छ’ स्रोतले भन्यो-‘दोस्रो मात्रा दिने की नदिने भन्नेबारे छलफलमा छौं । केही दिनमा निर्णय हुनेछ ।’

नेपालमा अहिलेसम्म १६ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो भने दोस्रो अभियानमा ६५ वर्षभन्दा माथिकालाई खोप दिइएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षमाथिकालाई खोप दिइएको छ ।