Share this News on Social Networking Pages

काठमाडौं,१० चैत ।
ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा स्याङ्जामा ट्याक्टरका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल राना रहेका छन् ।

स्याङजाको गल्याङ नगरपालिका–९ पारीचौरमा ढुंगा बोकेको लु अ अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहालाई नदिमा बगाएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सोही ट्याक्टरका चालक चालक अमित परियार र अर्का सहचालक सुनिल रानाले कालीगण्डकी नदीमा फालिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

चैत ५ गते घटना भएपछि चालक अमित र सहचालक सुनिल दुवै ट्याक्टर छाडेर भागेको र सुनिलले पाल्पास्थित दिदीको घरमा पुगेर घटनाबारे बताएको प्रहरीले जनाएको छ ।

सुनिललाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्वीकार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । ‘नदीमा फालेको भनिएका व्यक्तिको घरबाट पनि खोजी भएको छैन, हामीले बुझ्दा साथीकहाँ गएको होला भनेर खोजी नगरेको देखियो,’ उनले भने, ‘उनको शव भेटिएको पनि छैन, हामीले गोताखोर मगाएका छौं ।’

पक्राउ परेका सुनिलमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएको प्रहरीले जनाएको छ । घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।