बुटवल,१० चैत ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल– नारायणगढ सडकखण्ड विस्तारको काम पुन ठप्प भएको छ ।
मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको भन्दै शुक्रबारदेखि रोकिएको काम चार दिन बितिसक्दा पनि अझै सञ्चालन हुन नसकेको हो ।
आयोजनाले पारिश्रमिक दिन ढिला गरेको जनाउँदै शुक्रबारदेखि नै मजदूरहरु निर्माण स्थलमा जान छोडेपछि सडक विस्तार ठप्प भएको थियो ।
सडक निर्माणमा कार्यरत मजदूर काममा नआएका कारण काम ठप्प भएको बुटवल– नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले जानकारी दिए । आयोजनाको खण्ड (क) को विभिन्न स्थानमा करीब ४०० मजदूरले सडक विस्तारमा संम्लग्न थिए ।
सो सडक विस्तार आयोजनाको काम मजदूरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि केही महिनापहिले ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै उनीहरुले हडताल गर्दा सडक विस्तारको काम प्रभावित भएको थियो । एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो ।
सरकारका तर्फबाट निर्माण कम्पनीलाई कामअनुसारको भुक्तानी नरोकेको आयोजना प्रमुख दिष्टीको दाबि छ ।
सडक विस्तारको काम निकै कम भएकाले ठेकेदारले धेरै भुक्तानी दाबी गर्न नपाएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीको आन्तरिक समस्या, साइट क्लियरेन्सका लागि स्वीकृतिलगायतका कारण निर्माण थालेको दुई वर्षमा चार प्रतिशत मात्रै भौतिक प्रगति गरेका कारण सोहीअनुसारको भुक्तानी गरिएको उनले बताए ।
ठेक्का सम्झौता भएर २०७५ साल चैत ८ देखि सो आयोजनाको निर्माण शुरुआत भएको थियो । आयोजनाको काम करीब ९६ प्रतिशत बाँकी हुँदा ठेक्का सम्झौताअनुसार अबको १८ महिनाभित्र निर्माणको काम पूरा गर्नुपर्ने हुन्छ । सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउँदा गरिएको अनुमानभन्दा करीब २० प्रतिशत कममा ठेक्का हालेपछि आयोजनाको काम चाइना स्टेट इन्जिनीयरिङ कम्पनीले पाएको थियो । हतारहतार काम थालेको घोषणा गरिएको आयोजनाको साइट क्लियर नै नगरी ठेक्का गरिएको बताइएको छ ।
सडक विस्तारका क्रममा बाटोबाट उत्तरतर्फ पर्ने रूख कटानको काम भए पनि दक्षिणतर्फको रूख कटानमा समस्या देखिएको छ । दक्षिणतर्फ मध्यवर्ती क्षेत्रको वन पर्ने भएकाले रूख कटानमा समस्या उत्पन्न भएको आयोजनाका सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिए । रूख कटानको स्वीकृति लिने सबै प्रक्रिया भइसकेको र स्वीकृति पाएपछि दक्षिणतर्फको रूख कटानको काम पनि अगाडि बढ्ने उनले बताए ।
रूख कटानभन्दा पनि सडक विस्तारका क्रममा सार्नुपर्ने विद्युतका पोलहरु समस्याका रुपमा देखापरेको छ ।
काम गर्ने स्थानको पोल सार्दै काम गर्न सहज हुने भन्दै निर्माण कम्पनीलाई नै विद्युतको पोल सार्न दिने सहमति भए पनि निर्माण कम्पनीले उक्त सहमतिअनुसार पोल सार्न नसक्ने जवाफ दिएको आयोजनका एक कर्मचारीले बताए ।
आयोजनाको ११५ किलोमिटरको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटरलाई खण्ड (क) तथा दाउन्ने–बुटवल खण्डको ५० किलोमिटरलाई खण्ड (ख) बनाएर निर्माणको काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार भएको आयोजनाको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी रहने आयोजना प्रमुख दिष्टीले जानकारी दिए ।
अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो ।