बुटवल,९ चैत ।
जनप्रतिनिधि र कर्मचारीबीच बिवाद भएपछि रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका कर्मचारीहरुले कामकाज बन्द गरेका छन् ।
चैत्र ८ गते मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण बहादुर यादवले कर्मचारीमाथी अश्लील गाली गलौज गर्नुकासाथै हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका छन् ।
दोषि उपर कानूनी कार्यवाही र जिउ ज्यानको सुरक्षा नभए सम्म काममा नफर्कने उनिहरुको चेतावनी छ ।
मर्चवारी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष यादवले प्राविधिक फाँटमा कार्यरत असिष्टेन्ट सब ईन्जिनियर प्रेम सागर पासवानलाई हातपात गरेको कर्मचारीहरुको आरोप छ । हातपातको आरोप लगाउदै कर्मचारीहरुले सूचना नै जारी गरेर गाउँपालिका बन्द गरेका हुन् ।
अहिले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा शाखा, कृषि शाखा लगायत सबै फाँटमा ताल्चा लागेको छ । यसले गाउँपालिकामा सेवाको लागी आउने सेवाग्राहीहरु मारमा परेका छन् ।
कुटपिट गरेको आरोप लागेका वडाअध्यक्षले भने कुटपिट नगरेको दावी गरेका छन् । भएको कामको पनि मूल्यांकन नगरेको भन्ने उपभोक्ताहरुको गुनासो आए पछि प्राविधिक संग त्यस बिषयमा सामान्य भनाभन भएको उनले स्वीकारे ।
गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले अहिले स्थानीय तहहरुको बिकास निर्माण लगायतका काम सम्पन्न भएर रकम निकासा हुने समय भएको भन्दै यस्तो अवस्थामा कर्मचारीहरु हडतालमा उत्रिदा गाउँपालिकाको समग्र बिकासमा असर पर्ने चिन्ता ब्यक्त गरे ।
कर्मचारी र जनप्रतिनिधि बिचको यो विवादमा निजामति कर्मचारी आवद्ध बिभिन्न संघ संस्थाले पनि चासो देखाएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईले मध्यस्तकर्ता हुनु पर्ने जनप्रतिनिधि नै कुटपिटमा उत्रिन थाले बिकास हुन नसक्ने प्रतिक्रिया दिए ।