Share this News on Social Networking Pages

काठमाण्डौ,८ चैत ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।

सीमा नाकामा हेल्थ डेस्कको संख्या बढाउनुकासाथै आवश्यक कर्मचारी खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्य नाकामा निगरानीलाई बढाइएको पनि उनले बताए । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली गाउँघर फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको उनले जानकारी दिए ।
यस्तै, भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

यसबीचमा ठूलाठूला सभा आयोजना भएकाले अब यस्ता सभा सम्मेलन रोक्ने तयारी पनि गरिएको छ । कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेलाबेलामा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् ।

कोरोना संक्रमण फैलिएसँगै भारतका केही ठाउँमा पुन लकडाउन घोषणा गरिएको छ ।