Share this News on Social Networking Pages


कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक

काठमाडौं,४ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नुपर्ने बताएका छन् ।
उनले अबको निकास निर्वाचन नै भएको बिचार व्यक्त गरे ।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थितिबाट निकास दिन निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् ।

जारी राजनीतिक तनाव अन्त्य गर्न निर्वाचनको विकल्प नभएको बताउँदै उनले यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधान विपरित भएकाले कांग्रेसले विरोध गर्नुपरेको तर्क गरे ।

बहुमतको सरकारले निर्वाचन गर्न नमिल्ने भएकाले दलहरू मिलेर अल्पमतको सरकार गठन गर्नुपर्ने उनको भनाइ छ ।

उनले कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । आउने महाधिवेशनबाट कार्यकर्तालाई गुटको भन्दा पार्टीको नेता छान्न समेत आग्रह गरे ।

जनताबाट टाढा हुँदा पार्टी कमजोर बन्न पुगेको भन्दै नेता कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई जनतासँगको दूरी कम गर्नुपर्नेमा जोड दिए ।
साथै, जनताका हरेक दुःख र सुखमा साथ दिन समेत कार्यकर्ताहरूलाई उनले अनुरोध गरे ।

आगामी महाधिवेशनमा सभापति बाहेक अन्य पदमा आफूले उम्मेदवारी नदिने पनि कोइरालाले प्रष्ट पारे ।