बुटवल,२ चैत ।
देशकै ठूलो मध्येको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को निर्वाचनमा एमाले–माओवादी गठबन्धन भित्रैबाट अन्तर्घात भएपछि सहमति धरापमा परेको छ ।
गठबन्धनकै केही उम्मेदवारले उच्च मतसहित विजयी हुने र केही पराजित भएपछि बाम गठबन्धनको सहमति धरापमा परेको हो ।
बाम गठबन्धन भित्रैबाट अन्तर्घात हुनु र गठबन्धनको नेतृत्व गरेर चुनावमा होमिएका निवर्तमान अध्यक्ष दधीराम खरेलले विजयी ११ जना सञ्चालकमध्ये सातौं स्थानमा पुगेपछि अध्यक्ष कसलाई बनाउने भन्ने चर्चा सुरु भएको हो ।
मतदाताको भावनाको कदर गर्ने हो भने बाम गठबन्धनबाट बढि मत ल्याउनेलाई अध्यक्ष बनाउनुपर्ने व्यवसायीहरुको जोड छ ।
कांग्रेस निकट व्यवसायीको प्यानलबाट सञ्चालकमा विजयी कृष्ण पाण्डेले धेरै मत ल्याउनेलाई अध्यक्ष बनाउँदा मतदाताको भावनाको कदर हुने बताए ।
उता बाम गठबन्धनबाट सबैभन्दा धेरै मत ल्याएर निर्वाचित हुनुभएका जीवन बञ्जाडेले भने धेरै मत ल्याएका कारण अध्यक्षको जिम्मेवारी लिन प्रस्ताव आएको स्वीकार गर्दै आफुले गठबन्धनको सहमति तोड्ने पक्षमा नरहेको प्रतिक्रिया दिए ।
बाम गठबन्धनका एमाले निकट जिवन बन्जाडेले १५३० मत ल्याउदा बाम गठबन्धनकै माओवादी केन्द्र निकट दधिराम खरेलले १३३८ मत मात्रै प्राप्त गरेका थिए भने सोही गठबन्धनकै तीन जना उम्मेदवार पराजित भएका थिए ।
गठबन्धनका कसैले उच्च मतसहित विजयी हुँदा सोही गठबन्धनका केही उम्मेदवार पराजित भएकोले बाम गठबन्धनमा अन्तर्घात भएको भन्दै बामपन्थी व्यवसायीहरु असन्तुष्ट देखिएका छन् ।
११ सदस्यीय सञ्चालक समितिको लागि भएको निर्वाचनमा एमाले–माओवादी गठबन्धनका ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जना निर्वाचित भएका छन् ।
अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यवस्था रहेको छ ।